हामी भुटानका नेपाली

इच्छा पौडेल, अष्ट्रेलिया

सन्दर्भ
केहि बर्षअघि नेपालको भूटानी शरणार्थी शिविरमा जन्मेर अमेरिकामा पुनर्वास भएका १७ बर्षे एकजना युवकले गुगल ग्रुपमा एउटा सहयोग मागे। ‘म नेपालमा जन्मेको, मेरा बा-आमा भूटानमा जन्मेका र अहिले म अमेरिकाको नागरिक भएको छु। मलाई स्कूलमा तिमी को भनेर सोध्छन्। म आफू को हूँ? नेपाली, अमेरिकी, भुटानी या अरु कोही?’

धेरैले भन्ने गरे जस्तो हामी पहिचान विहिन भने होइनौं। नेपालकाले नेपाली भने जस्तो, बंग्लादेशीले बंगाली भनेर एउटा शब्दमा आफ्नो पहिचान दिए जस्तो छोटो हाम्रो परिचय हुन सकेन। कुनै समुदायको परिचय एउटै शब्दमा हुनु पर्ने विचार नै कताबाट आयो थाहा भएन तर अष्ट्रेलियामा दुई शय भन्दा बढी समुदाय छन् तर सबैको एक-शब्दे पहिचान सुनेको छैन। हुन त हामीले भुटानी भनेर सुरुबाटै आफूलाई चिनाएको भए आज हामीले यो बिषयमा वहस गरिरहनु पर्ने थिएन। तर टेकनाथ रिजालहरुले नेपाली भाषीहरुको मामिला उठाएको समय र त्यसपछिका सम्पूर्ण घटनाक्रमहरुले दक्षिण भुटानमा बसोबासो गर्नेहरुले भाषा, संस्कृति अथवा जातीयताका आधारमा आफूलाई नेपाली भनेर चिनाउने आवश्यकता महसुस गरेका हुन्।। कारण जेसुकै भए पनि सन् ९० तिरको घटनाक्रमले जातीयतालाई प्रमुख मुद्दा बनायो भुटानको राजनीतिमा। दक्षिणका नेताहरुले यसैलाई जातीय सफाई भने जुन नियोजित थियो कि टेकनाथहरुको अपील अनि त्यसपछिका घटनाहरुले फलाएको फल थियो त्यो बहसको विषय छँदैछ। त्यसपछि नै पूर्व र उत्तरका अरु भुटानीहरुबाट आफूलाई खुट्टयाउन ‘नेपाली भाषी भुटानी, गोर्खाली, भूटानी नेपाली, नेपाली मूलका भूटानी आदि आदि भनेर आफूलाई चिनाउने थालनी भएको हो।

पुस्ता र परिचय तीनवटा देश, तीन पुस्ता अनि तीन भिन्न भिन्नै परिवेश। भुटानमा जन्मेर खेती किसानी गर्दै बालबच्चा हुर्काएका हाम्रा हजुरबा। नेपालको शरणार्थी शिविरमा जन्मेका तिनका छोराछोरी अनि पुनर्वाशपछि पश्चिमा मुलुकमा जन्मेका तिनका नानीहरु। आज अष्ट्रेलियामा पुनर्वाश भएका नेपालका शिबिरबाट आएका भुटानीको एउटा परिवार छान्ने हो भने यही अवस्थाको भेटिन्छ। पहिलो पुस्ताको भुटानप्रतिको ममता, भावना र कर्तव्यबोध अरु पुस्ता भन्दा बढि देखिनु स्वभाविक हो किन भने त्यो देशलाई अहिलेको अवस्थामा ल्याउन उनीहरुको रगत, पसिना, समय र बैंशको ठूलो लगानि छ। यति मात्र नभै यी सभ्य सन्तानलाई आफनी आमाको बात्सल्यता र दुधको ऋण लागेको महसुस हुन स्वभाविक हो।

दोस्रो पुस्ताको या मेरो भने भुटान र नेपालसंगको सम्बन्ध उस्तै उस्तै छ, भावनाले म नेपालसंग नजिक छु। यहाँ कारणहरु सर्वविदितै छन्। मलाई लाग्छ हामी मध्य धेरैले यस्तै सोच्छौं तर हामीसंग नेपालको नागरिकता नभएकाले आफ्नो छुट्टै पहिचान देखाउन पनि हामी बाध्य छौं। भुटानी शासकले हामीमाथि लगाएको ‘अबैध नेपाली आप्रवासी’-को प्रतिकार गर्न पनि हामीले राष्ट्रवाद देखाउनु त्यतिकै महत्वपूर्ण हुन्छ।

पुनर्वाश पछि जन्मेका नानीहरु बालकै भएकाले नेपालमा जन्मेका भुटानी शरणार्थीहरुलाई तेस्रो पुस्ता मान्ने हो भने उनीरुको नेपालप्रतिको माया र भावनात्मक सम्बन्ध अगाध देखिन्छ, भुटानप्रति भन्दा बढ्ता। यसको उदाहरण हेर्ने हो भने एडिलेड सेकेन्डरी स्कूल ,प्याराफिल्ड गार्डन हाइ स्कूल या थेवार्टन सिनियर कलेज जहाँ नेपालवाट पुनर्वास भएका नयाँ र पुराना विद्धार्थीहरु पढछन्। कुनै समय त्यहाँ पुग्नु भयो भने उनीहरुले यसो भनेको सुन्नुहुनेछ, “क्लासमा हामी १० जना नेपाली छौं।” उसो त रेलमा यात्रा गर्दा, किनमेल गर्दा या भेलाहरुमा तिनीहरु कसैले आफूलाई भुटानी भनेर कहिल्यै चिनाएको सुनेको छैन। यो स्वभाविक प्रतिकृया हो। हामीलाई इतिहास थाहा छ। हामीले हाम्रा अग्रजहरु र नेताहरुले हाम्रो इतिहास भनेको सुनेका छौं या पढेका छौं। हाम्रा पुर्खा मात्र नेपालबाट गएका हुन तर हामी सबै नागरिकता र जन्मका आधारमा भुटानी हौं चाहे त्यहाँको सरकारले यो स्विकारोस् या नस्विकारोस्। तर इतिहासलाई आधार मानेर भुटानको मात्र रटान लगाउँदा इतिहास नपढेका या शासकले आफ्ना परिवारमाथी गरेको अत्याचारका कारण भुटानप्रति नै वितृष्णा जगाएर बसेका हाम्रा दोस्रो र तेस्रो पुस्ताको देशसंगको भावनात्मक सम्बन्ध मजबुत गराउन सकिएला? यो महत्वपूर्ण जिम्मेवारी समजमाथि छ जसले यो पुस्तालाई आत्मैबाट आफ्नो पृष्टभूमी नेपाली नभई गौरवसाथ भुटानी हो भन्ने भावना जागृत गराउन सक्नु पर्छ । यसो गर्न सकियो भने हाम्रो पहिचान राम्रो, छोटो, सजिलो अनि सर्बमान्य हुनेछ। जबसम्म आत्माले पहिचान स्विकार्दैन उसको त्यो पहिचान आफैंलाई बोझ हुनेछ र पहिचानको खोजि मै उसको जीवन बित्नेछ।

नेपाली पृष्टभूमीका भुटानी
हाम्रो पहिचानको कुरा गर्दा बाल्यकालमा भुटानमा चाड-पर्व मनाएको याद आउँछ। दशैंको टीका लगाउन अघि घरको मूल ढोकामा हजुरवाले ‘……….श्री ५ विरेन्द्र…….’ भन्दै टिका लगाएपछि मात्र हामीलाई लगाई दिनु हुन्थ्यो। कागजमा बाहेक सबै प्रकारले हामी नेपाली थियौं। शरणार्थी शब्द र भुटानी शब्द धेरैलाई उस्तै उस्तै लागेको मैले पाएको छु, बिशेष गरी दोस्रो र तेस्रो पुस्तामा। नेपालमा बस्दा र शिविर बाहिर गएर काम गर्दा हामी सधैं नेपाली भयौं। नेपाली नागरिकता निकाल्नेहरुले नेपाली नै भएर निकाले। गोर्खालीले देखाएको बीरताको दाबी आज पनि हामी गरिरहेका छौं। तर अहिले कुनै भुटानीले म नेपाली हूँ या मलाई नेपाल प्यारो लाग्छ भन्दा किन बिरोध गर्नु? भर्खरै हाम्रा एक जना युवा नेता भनाउँदाले नेपाललाई माया गर्ने भुटानीहरुलाई सामाजिक संजालमार्फत हाँसोको पात्र बनाएको देख्ता साह्रै अप्ठेरो महसुस भएको छ। नेपाल विश्वकै एउटा सुन्दर, शान्त र समावेशि राज्य हो। भुटानका मात्र नभै त्यस छेत्रका अन्य जातीका शरणार्थी तथा राज्यबिहिनहरुलाई आश्रय दिने नेपालप्रति कृतज्ञ हुनु र जातीय तथा भावनात्मक सम्बन्ध रहनु उसको गौरवको बिषय हो। यसलाई स्वीकार्नु र सम्मान गर्नेु हाम्रो कर्तव्य हुन आउँछ।

के पहिचान जन्मभूमी हो?
अहिलेका प्रायः सबै बच्चाहरु अस्पतालमा जन्मन्छन् तर अस्पताल कहिल्यै घर हुँदैन। जन्म र खोसिएकै भएपनि नागरिकताका आधारमा पहिलो पुस्ताले आफूलाई भुटानी भन्छन् र उनीहरुको पहिचान पनि निर्विध रुपमा भुटानी नै छ। तर त्यसबेलाका भुटानी नागरिक बा-आमाबाट जन्मेको र कलिलै उमेरमा देशबाट निकालिएको आजको युवक त्यहाँ छैन। उसका भुटानी भनेर गौरव गर्ने आमा-बाबु, हजुरबाहरु कोहि त्यहाँ छैन्न्। आफूलाई भुटानको भनैं भने उसलाई त्यहाँ जान दिइंदैन। जुन घरमा उसलाई प्रवेश छैन, त्यो कसरी उसको घर हुन्छ? कानुनले मान्ला, कागजले पनि त्यसै भन्ला, अधिकांशले पनि त्यहि स्वीकार गर्लान तर उसको भावनाले नस्वीकारेको, आत्माले नमानेको साइनो कसरी ऊ अंगालोस्? भुटान र उसको सम्बन्ध केवल औपचारिक हुन्छ, भावनात्मक हुँदैन। ऊ नेपाल बढी मन पराउन सक्छ किन भने त्यहाँ उसलाई कमजोरि या अभावका बाबजुद पनि स्वीकार गरिन्छ अनि विनासर्त माया गरिन्छ। भुटानलाई उसको घर स्वीकार्ने आधार खोई? कतिलाई भुटान र भुटानी शब्दसंग एलर्जी भएको पाएको छु। राज्यले गरेको अत्यचार सम्झंदा मानिसहरुमा बितृष्णा छाउनु स्वभाविक हो। तर्क उठ्न सक्छ सामन्ती सरकारका कारण हामी बेघरवार भयौं, देशका कारण होइन। यो पनि नभुलौं देश भनेको चट्टान, पहाड, जंगल खोला-नाला र माटो हो। यसले न कसैको भावना बुझ्छ न आँसु देख्छ। देशवाशी बीचको सम्बन्ध र एउटाले अर्काप्रति गर्नेु पर्ने कर्तव्य नै राष्ट्वाद हो। देशभक्तिको रटान लगाएर एउटाले अर्कामाथी आक्रण गर्नु , कुनै समूह विषेशलाई हेला गर्नु अनि राष्ट्रका नाममा मानिस हत्या गर्नु राष्ट्रवाद नभएर अपराध हो। स्वतन्त्र न्याय प्रणाली भएको देशमा कुन राष्ट्रवाद हो र कुन राष्ट्रद्रोह हो त्यहाँको कानुनले निर्णय गर्ने चलन हुन्छ न कि कुनै व्यक्ति या समुदाय बिषेशको बुझाईले जे भन्यो त्यहि सहि हुने हो।

अनाथालयमा हुर्केको नानीका लागि उसका आमा-बा गौंण हुन्छन्। जस्ले उसलाई जीवन दियो, माया दियो अनि हुर्कायो त्यसले उसैलाई माया गर्छ। यहाँ हामी बंश पहिल्याउने डि. एन. ए खोजिरहेका छैनौं, इतिहासका मोटा पुस्तक पल्टाएर समयको काल खण्डमा कहाँबाट कहाँ पुग्यौं भनेर पढिरहेका पनि छैनौं । न त मेरो राहदानी (पासपोर्ट)ले मलाई के भन्छ भनेर जाँच गर्दैछौं। हामी त संसारका विभिन्न मुलुकबाट भेला भएका मानिसहरु माझ हाम्रा भाई-बहिनीहरुले आफूलाई के भनेर परिचित गराउने भन्ने बिषयमा छलफल गर्दै छौ। तिम्रो पृष्टभूमी के हो भनेर कसैले एक्कासि सोध्यो भने संभवत तपाईं दुईमा एक भन्नु हुन्छ – नेपाली कि भूटानी। मान्छेको पहिचान परिस्थिति अनुसार फरक पर्नु पनि स्वभाविकै हो। कवि गोष्टीमा म भूटानी भनेर परिचय दिनु भन्दा नेपाली भन्न रुचाउँछु कि न कि मेरो कविता नेपालीमा हुनेछ। यसको अर्थ भुटानलाई अनादर गरेको या भुलेको भन्ने नभै परिस्थिति सान्दर्भिक र सरल बनाएको बुझिदिन अपेक्षा गर्छु। तर संसारका कुना कुनाबाट आएका समुदायले आफ्नो संस्कृति झल्काउने पहिरन र बाजा-गाजाहरुको प्रदर्शन गर्ने अष्ट्रेलिया दिवसमा म भुटानीको समूहमा लाम लाग्छु। पहिचानको प्रदर्शन हुने यस्ता विशेष दिवसमा म दौरा सुरुवाल र ढाका टोपी लगाउँदिन अनि नेपालीको पंतिमा चन्द्र-सुर्य झण्डामुनि बस्न मेरो आत्माले मान्दैन। भुटानी समुदायको पंतिमा भने कोहि दौरा सुरुवाल, गुन्युँ चोली र ढाका टोपीमा लामबद्ध हुन्छन् अनि कोहि बख्खुमा सजिएर आएका हुन्छन्। एउटै समुदायका थोरै सदस्यहरु पनि भिन्ना भिन्नै पहिरनमा देखिनुको सांकेतिक महत्व हामीलाई थाहा भएपनि त्यसले हाम्रो पूर्ण पहिचान खुल्दैन। आफ्ना इच्छा अनुसारको पहिरन लगाउनु व्यक्तिगत अधिकार भए पनि पहिचान झल्काउनलाई मात्र लगाइनु भने आवश्यकता होइन। भुटानी हुन बख्खु नै लगाउनु पर्छ भन्ने भुटानी शासकको मात्र विभेदि नियम हो जसको हामी बिरोध गरिरहेका छौं। तर दुबै नेपाली भेष-भुषा र भुटानी पोसाकमा एउटै भेलामा एउटै घरका दाजु-भाई भेला हूँदा हाम्रो खिच्चडी परिचयले मान्छे अल्मल्याउने छ। बाहिरबाट हेर्ने व्यक्ति सजिलै अल्मलिन सक्छ हामी नेपाली कि भुटानी भनेर। मेरो भनाइ के भने अष्ट्रेलिया दिवश जसमा समुदायको पहिचान झल्किनु पर्ने हो त्यो नै अपूर्ण हुन्छ। हामी साझा पहिचान बनाउन जुटेका हौं भने भुटानको राष्ट्रिय झण्डामुनि यो महत्वपूर्ण दिवसमा इच्छा गर्नेहरुले राष्ट्रिय पोशाक नै लगाउँ र अरुले साबिक झैं सर्ट पाइन्ट आदि लगाउँ जसले गर्दा हाम्रा पुस्ताहरु नअल्मलिउन अनि दर्शकले पनि यिनीहरु भुटानी रहेछन् भनेर बुझुन्। तर यसलाई सल्लाहका रुपमा मात्र दिइनु पर्छ आदेशका रुपमा होइन।

गत साल म कालिम्पोङको एउटा सामान्य किसानको घरमा पुगेको थिएँ। त्यसबेला उनीहरुले नेपाल र भारतको फूटबल खेल हूँदा नेपाली टिमलाई हुटिंग (हौसला) गरेको देखेको छु। तर रेसी पारीका सिक्किमबासी भने भारतलाई नै समर्थन गर्छन्। किन? सरकारले सिक्किमासीको करेसाबारी समेत बनाई दिएको छ तर दार्जीलिंङ वासीहरुको भने शिक्षित भए पनि जागिर नपाईने अनि काम गर्छु भन्दा पनि ठाउँ नपाईने अवस्था छ। उनीहरुलाई सौतेलो ब्यावहार गरेकैले आफ्नो देश भए पनि बितृष्णा छ।

पोहोरकै ओलम्पिकमा फैसबुक भरी साथीहरुले कुन देशलाई समर्थन गर्ने भन्ने देखाए। खुशीको कुरा त अष्ट्रेलियामा पुनर्वास भएका भुटानीहरु मध्य धेरैले अष्ट्रेलियालाई समर्थन गर्दै त्यही अनुसार आफ्ना प्रोफाइल बनाए। अप्ठेरो परेका बेला खा्ल्डाबाट झिकेर नयाँ जीवन दिने राष्ट्रप्रति कृतज्ञता दर्शाउने यो महान बिचार हो। कसैले नेपाललाई त कसैले भुटानलाई समर्थन गरे । कसैले किन कुनलाई समर्थन गरेको बनेर प्रश्न गरेन। एकार्काको भावनाको कद्दर गर्ने यो चनल उदाहरणीय छ। हाम्रो पहिचानको खोजिमा पनि सबैको यस्तै सहयोग र एकार्काको भावनालाई स्वीकार भए हामी सजिलै एउटा साझा पहिचान बनाउन सक्छौं।

छुट्टै पोसाक र भाषा?
हाम्रो भाषा नेपाली हो, भुटानी नेपाली होइन। लोत्साम् पनि होइन अनि भूपाली वा बर्मेलीहरुले भन्ने गरे जस्तो गोर्खाली पनि होइन। भुटानमा हामीले बोल्ने भाषा पूर्वी नेपालमा बोलिने या नेपालको आधिकारिक राष्ट्र भाषा नेपाली हो। फरक यति हो हामी अञ्जान मै कि त अंग्रेजि मिसाउँछौं कि त नेपालका दुर्गम भेगमा सिमित कतिपय शब्दहरु प्रयोग गरिरहेका हुन्छौं। जसरी नेपालमा हराइसकेको संस्कृति हामीकहाँ ज्यूँदै छ, त्यसरि नै केही अपभ्रंश बाहेक हामीले आज बोल्ने भाषा पनि नेपालका एक-दुई पुस्ता अघिकाहरुले बोल्ने जस्तै छ। जसरी बैगुन भन्दा थोरै नेपालीले तरकारीको रुपमा चिन्लान् त्यसरि नै भाण्टा भन्ने थोरै भुटानीले मात्र सुनेका छन्। एडिलेड कै आइतबारे बजारमा नेपाली कि भुटानी भनेर चिन्ने एउटा सुत्र थाह पाएको छु। यदि कुनै महिलाले ‘बूढा, यहाँ गोलभेडा सस्तो रहेछ’ भनेको सुन्नु भयो भने ती नेपाली रहेछन् भनेर प्रायः निश्चित भए हुन्छ। भुटानीहरु ‘यहाँ टमाटर होलो-सस्तो रछ’ भन्छन्। आफूभन्दा ठूलालाई ‘तिमी’ र सानालाई ‘तँ’ भन्ने नेपालको गाउँले चलन नेपाली बोल्ने भुटानीहरुमा अझै लोकप्रिय छ। बसाईं सराइपछि क्षेत्रिय वातावरणले भाषा र लवजमा सामान्य परिवरतन ल्याउनु वा शब्दहरु अपभ्रंश हुनु सामान्य प्रकृया हो जसलाई छुट्टै भाषा उत्पति भएको मान्नु हुँदैन। हामीमध्य थोरैले मात्र नेपाली शुदधसंग लेख्न सक्ने भए पनि म चाहिं भाषिक शुद्धताका कारण मेरो भावना कुण्ठित नहोस् भनेर नै लेखिरहेको छु। धान नभए पनि ढुकुटी खाली राख्नु भन्दा फापरले नै भए पनि भरौं भन्ने आशय हो। हामी साझा पहिचान बनाउन कसरत गरिरहँदा भाषालाई पनि साझा बनाउनु पर्छ या हाम्रो भाषालाई नेपाली नै भन्नु पर्छ, अन्यथा साझा पहिचानको हाम्रो प्रयास बिल्कुल अधुरो रहनेछ।

एडिलेडमा एक पटक माठाको कपडामा बनेको इस्ट कोट (वेस्ट कोट)को चलन निक्लिएको थियो। हामी नेपाली भाषी भुटानी भएकाले हाम्रो छुट्टै जातीय पोशाक बनाउनु पर्छ भन्ने विचारले केहि साथीहरुले प्रयास गरेका थिए। सकारात्मक विचारले सुरुगरेको अभियान भएपनि आज कसैले त्यो पोसाक लगाएका छैन्न। मेरो विचारमा अब हामीले त्यसलाई पनि थन्काएर जातीयता झल्काउनु पर्दा नेपाली पोसाक दौरा सुरुवाल, ढाका टोपी अनि गुन्यूँ-चोली लगाउनु पर्छ जुन हामीले नाच-गान र चाड पर्वमा लगाएकै छौं। तर जहाँ राष्ट्रियता झल्काउनु आवस्यक हुन्छ त्यहाँ हाम्रो राष्ट्रिय पोसाक बख्खु नै लगाउनु पर्छ। त्यसो गर्दा हाम्रो भनाई र गराईमा एकरुकता आउनेछ अनि हाम्रा पुस्ता पनि अल्मलिने छैन्न्।

अबको बाटो के त? यहाँ सोध्नेलाई सल्लाह दिन सकिन्छ, निर्देशन होइन। नयाँ देशमा हरेक ब्यक्ति स्वतन्त्र छ, उसले आफूलाई के भनेर परिचय गराउने भन्ने उसको ब्यक्तिगत अधिकार हो। पुनर्वासपछि समय बित्तै जाँदा समुदायमा उसको निर्भरता पनि कम हुँदै जान्छ। पहिलो त हाम्रो जाती अनि भाषाको यति धेरै नामहरु हुनु नै दुर्भाग्य हो। तर यो नभुलौं केहि दशक अघिसम्म हामी भुटानी मात्र भनेर चिनिन्थ्यौं। त्यसमा कुनै समस्या थिएन बरु सबैलाई सजिलो भएको थियो त्यो पहिचानले। अब हामी फर्केर त्यहीं जान सक्छौं। आफूलाई भुटानी भनौं र आवस्यक परे नेपाली मूलका भुटानी या नेपाली भाषी भुटानी भनौं। अब फेरी कुनै व्यक्तिले सृजना गरेको नयाँ पहिचानका पछि लागेर हाम्रो छरपष्ट परिचयलाई झन् अप्ठेरो पार्नु भन्दा हामी अधिकांशलाई स्वीकार हुने एउटा साझा पहिचान भुटानी भन्नु सबैभन्दा सजिलो र प्रभावकारी हुन्छ भन्ने मलाई लाग्छ। हुन त म आफैंलाई भावनात्मक रुपमा भुटानी भन्दा बढि नेपाली र नेपाली भन्दा बढी अष्ट्रेलियन सम्झन्छु तर मेरो भावना समाजका बहुसंख्यकको भन्दा माथी हुन सक्तैन। जुन कुरा मैले स्वीकार गर्दा हानी छैन समाजका लागि त्यति त्याग गर्न म तयार छु। अन्यथा डेढलाख मान्छेका डेढलाखै विचार होलान्। सबैले आ-आफ्नै खाले पहिचान दिने हो भने समाजको पहिचान भने निश्चित रुपमा गुम्नेछ। हरेकलाई आफ्नै विचार मन पर्ला तर त्यसले एकता ल्याउने छैन। तर हामी भुटानी र हाम्रो पहिचान भुटानी भन्दैमा कोहि आफूलाई फरक प्रकारले परिचित गर्न चाहन्छन् भने उनीहरुको भावनाको पनि कद्दर गरौं। हामीमध्य धेरैलाई नेपाली भन्न मन लाग्ला जुन परिस्थिति अनुसार जायज हो। त्यसको बिरोध होइन सल्लाह दिउँ। कोहि पुनर्वास् गराउने मुलुकप्रति कृतज्ञ भई कर्तब्यबोध स्वरुप आफूलाई त्यही देशको नामबाट चिनाउन चाहलान् त्यसको पनि सम्मान गरौं। लादिएको पहिचान बोझ मात्र हुन्न खतरा पनि हुन सक्छ। भुटानले एक राष्ट्र एक जनता भन्दै पहिचान जबरजस्ति लागू गराउँदा परेको चोटले देश र जनता दुवै दुखि रहेका छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *