टुंगियाे भूटानी शरणार्थीको तेस्रो मुलुक पुनःस्थापना

राजेश कोइराला
आफ्नै देश फर्कने उत्कट अभिलाषा बोकेका नेपालस्थित लाखौं भूटानी शरणार्थीको तेस्रो मुलुक पुनःस्थापना टुंगिएको छ।

सन् २०१७ सकिएसँगै भूटानी शरणार्थीको तेस्रो मुलुक पुनस्र्थापना पनि औपचारिक रूपमा सकिएको छ । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर) का अनुसार, गएको डिसेम्बर ३१ सम्ममा अमेरिकालगायत विश्वका आठ देशमा १ लाख १२ हजारभन्दा बढी भूटानी शरणार्थी पुनस्र्थापित भइसकेका छन् । कार्यालयले यूएनएचसीआरले डिसेम्बर ३१ अघि दर्ता गरेका एकदमै कम शरणार्थीलाई पुनस्र्थापनामा पठाउन चिकित्सा जाँच तथा अन्य आवश्यक मूल्याङ्कन भइरहेको जनाएको छ । पाँच वर्षमा सक्ने लक्ष्य लिइएको पुनस्र्थापना कार्यक्रमका लागि दश वर्ष लागेको छ । शुरूमा ६० हजारलाई पुनस्र्थापना गराउने घोषणा गरेको अमेरिकाले सबैभन्दा बढी ९५ हजार ४४९ जनालाई भित्र्यायो ।

क्यानडा र अष्ट्रेलियामा क्रमशः ६ हजार ८२६ र ६ हजार ७२८ जना पुनस्र्थापित भए । न्युजिल्याण्ड, डेनमार्क, नर्वे, बेलायत र नेदरल्याण्डस्ले क्रमशः १ हजार ९४, ८७५, ५७०, ३५८ र ३१९ जनालाई बसोबास गराए । “अब ७ हजार ५०० का हाराहारीमा नेपालका दुई शिविरहरूमा हुनुहुन्छ । कोही भूटान फर्कने त कोही नेपालमै बस्ने पक्षमा देखिनुहुन्छ” सिनियर एक्स्टर्नल रिलेसन्स एशोसिएट दिपेश श्रेष्ठ भन्छन्, “नेपालमै बस्न चाहनेका लागि बन्दोबस्त मिलाउन नेपाल सरकारले कुनै निर्णय त गरेको छैन । स्थानीय निकायसँग भने सकारात्मक रूपमा काम भइरहेको छ ।” पुनस्र्थापना कार्यक्रम शुरू हुनुअघि सात वटा शिविर कायम थिएः झापाका बेलडाँगी (तीन वटा), खुदुनाबारी, टिमाई र गोलधापका तथा मोरङको शनिश्चरे/पथरी । सबै शिविरमा गरी करीब १ लाख ६ हजार शरणार्थीको बसोबास थियो । महिला–पुरुषको अनुपात पाँच शिविरमा ४९:५१ र दुइटामा ५०:५० थियो । चार वर्षसम्मका बच्चाहरू ७.३ प्रतिशत, ५ देखि १७ वर्षका ३५ प्रतिशत, १८ देखि ५९ वर्षका ५१.४ प्रतिशत र ६० वा सोभन्दा बढी उमेरका ६.३ प्रतिशतको हाराहारीमा थिए । शिविरमा बसोबास गर्नेमध्ये करीब ६० प्रतिशत हिन्दू, २७ प्रतिशत बौद्ध, १० प्रतिशत किराँत र बाँकी इसाई थिए ।

सुस्त गति
सन् २०१५ अप्रिल १० मा न्यूयोर्कका २८ वर्षीय गुरु धिमाल (२८) ले प्रहरीको ९११ मा फोन गरेर आफू अलकायदाको सदस्य भएको र बसमा ह्वाइट हाउसमा पड्काउन बम लगिंदै गरेको बताए । धिमाल मामा भगिरथ कोइराला (६७) लाई पुर्‍याउन त्यही बसमा न्यूयोर्कबाट ओहायो जाँदै थिए । यी दुवै शरणार्थी पुनस्र्थापना कार्यक्रमअन्तर्गत नै विभिन्न मितिमा अमेरिका पुगेका थिए । ग्रेहाउण्ड कम्पनीको उक्त बसमा ३० जना यात्रु थिए । बस बफेलो, न्यूयोर्कबाट क्लिभल्याण्ड, ओहायोतर्फ गुडिरहेको थियो । बमको सूचना पाएलगत्तै दुईतर्फी यातायात बन्द गरियो । बस ओहायो राज्य छिरिसकेको थियो ।

प्रहरीले रोकिएको बसमा बम खोज्यो । तर फेला परेन । प्रहरीले गलत सूचना दिएको थाहा पाएपछि धिमाल र कोइरालालाई नियन्त्रणमा लियो । धरौटीमा छुटेका धिमाललाई मानसिक जाँचका लागि पठाइयो । कोइरालालाई तोकिएको धरौटी फिर्ता गरियो र जमानतमा छाडियो । तर, त्यसलगत्तै मेमा अमेरिकामा एकजना पनि भूटानी शरणार्थीको पुनस्र्थापना भएन । सन् २००८ मार्चयता कुनै महीना पनि भूटानी शरणार्थीको पुनस्र्थापना शून्य भएको थिएन ।

सामान्यतया सरकारको नीति तथा कार्यक्रम पारित हुन नसकेर ‘सट डाउन’ हुँदा वा अन्य गम्भीर कारणमा पुनस्र्थापना सुस्त भएको देखिन्छ । २०१३ अक्टोबर १–१६ मा सरकार ‘सट डाउन’ भएकाले शरणार्थी पुनस्र्थापनामा कमी आएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प आएलगत्तै शरणार्थी भिœयाउन कडाइ गरिंदा भूटानी शरणार्थी समेत प्रभावित बने । आधाभन्दा बढी शरणार्थी पुनस्र्थापित भइसकेपछि सन् २०१२/१३ यता भने पुनस्र्थापना विस्तारै कम हुँदै गएको तथ्याङ्कले देखाउँछ ।

नेपालीभाषी दोस्रो
अमेरिकी विदेश मन्त्रालयको रेफ्युजी प्रोसेसिङ्ग सेन्टरका अनुसार, अमेरिका भित्रिएका शरणार्थीको सूचीमा नेपालीभाषी दोस्रोमा रह्यो । मूलतः भूटानी शरणार्थीकै कारण यो संख्या बढेको हो । तर, २००७ देखि २०१२ सम्म कुल शरणार्थीमा नेपाली भाषी पहिलो स्थानमा थिए । २०१३ देखि भने अरबी भाषीले उछिनेका हुन् । सोमाली भाषी तेस्रोमा छन् भने करेन (तिब्बती–बर्मेली मूलको भाषा) बोल्नेहरू चौथो स्थानमा ।

शिविरका २७ वर्ष
भूटानको शाही सरकारको चरम दमन खेप्न नसकी सन् १९९० को अन्त्यदेखि नेपाली भाषी भूटानी नेपालको पूर्वी सीमा झापामा ओइरिन थाले । कारण थियो– नागरिकतासम्बन्धी नयाँ कानूनले अधिकार कटौती भन्दै नेपाली भाषीले थालेको आन्दोलन । केही वर्षमै नेपाल भित्रिने शरणार्थीको संख्या एक लाख नाघ्यो । नेपाल र भूटान सरकारबीच शरणार्थी फिर्तीबारे पटकपटक वार्तासमेत भयो । तर, आफ्ना नागरिकलाई देश नफर्काउने भूटानी शासकको अड्डीका कारण समस्या समाधान हुन सकेन ।

सन् २००६–०७ मा बल्ल आएर भूटानी शरणार्थीलाई तेस्रो मुलुक पुनस्र्थापना गर्न छलफल चल्न थाल्यो । अमेरिकाले राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर), अन्तर्राष्ट्रिय आप्रवास संगठन (आईओएम) र अन्य ७ मुलुक (क्यानडा, अष्ट्रेलिया, नर्वे, न्युजिल्यान्ड, नेदरल्यान्डस्, बेलायत र डेनमार्क) को सहकार्यमा पुनस्र्थापना थाल्ने निर्णय गर्‍यो । जसमा, शिविरका करीब १ लाख ७ हजारमध्ये करीब ५० हजार मात्र पुनस्र्थापनामा जान सहमत देखिए । तत्कालीन अमेरिकाका सहायक विदेश–मन्त्री एलेन सावरब्रेले अमेरिकामा ६० हजार भूटानी पुनस्र्थापना गर्न चाहेको घोषणा नै गरे । अष्ट्रेलियाले ५ हजार, क्यानडाले ५ हजार र अरू मुलुक (डेनमार्क, नेदरल्यान्डस्, न्युजिल्यान्ड र नर्वे) ले केही सयको अनुपातमा शरणार्थी बसोबास गराउनेमा मञ्जुर भए ।

२००८ मार्चमा पहिलोपटक पुनर्वासका लागि भूटानी शरणार्थी अमेरिका उडे । २०१० सेप्टेम्बरमा अमेरिका टेक्ने शरणार्थीको संख्या ३० हजार पुगिसकेको थियो । २०१० डिसेम्बर १३ मा नेपालका लागि अमेरिकी राजदूत स्कट एच. डेलिसीले शरणार्थी पुनस्र्थापनामा यसअघिको ६० हजारको सीमा अब नरहेको बताए । तेस्रो मुलुक पुनस्र्थापना हुने शरणार्थीको संख्या बढ्न थालेपछि २०११/१२ मा बेलडाँगी र शनिश्चरे/पथरी शिविरमा मात्र बाँकी रह्यो । बाँकी शिविर बन्द गरिए । २०१५ डिसेम्बरसम्ममा एक लाख भूटानी शरणार्थी विभिन्न आठ मुलुकमा पुनस्र्थापित गरिसकिएको थियो । जसमा, अमेरिकामा मात्र करीब ८५ हजार पुनस्र्थापित भए । २०१७ डिसेम्बर ३१ मा भने औपचारिक रुपमा शरणार्थीको तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रम सकियो ।

(कोइराला अमेरिकी न्यूजलेटर ‘अक्षरिका’ का सम्पादक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *