नेपालका प्रधानमन्त्रीलाई भुटानी शरणार्थीको पत्र
भूटानी शरणार्थीको स्वदेश फिर्ती अधिकारमाथि कुठराघात भएको भन्दै आफूहरूलाई स्वदेश फर्काउन नव निर्वाचित प्रधानमन्त्री सुशील कोइरालालाई भूटानी जेष्ठ नागरिक स्वदेश फिर्ती समितिले पत्र पठाएको छ ।
शरणार्थीहरुको समस्या समाधानका लागि शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (यूएनएचसीआर)ले ल्याएको ३ विकल्पमध्ये तेस्रो मुलुकलाई मात्र प्रश्रय दिएकोले स्वदेश फर्कन चाहने भूटानी शरणार्थीहरु मारमा परेको पत्रमा उल्लेख छ । समितिका संयोजक हर्कजंग सुब्बा र प्रवक्ता सन्तवीर घलेले हस्ताक्षर गरेको पत्रमा स्वदेश फिर्तीका लागि पहल गर्न प्रधानमन्त्री कोइरालासँग आग्रह गरिएको छ । भुटानीहरूलाई २२ बर्षअघि विस्थापित गराउन सहयोग गर्ने भूटानको मित्र राष्ट्र भारतले शरणार्थीलाई फर्काउन पनि त्यतिकै पहल गर्न माग गर्दै कोइरालासमक्ष पत्र पठाइको प्रवक्ता घलेले बताए।
समितिले एक साताअघि भूटानी शरणार्थीलाई सहयोग गर्न ८ वटा सहयोगी राष्ट्रका दुतावासमा पनि स्वदेश फर्काउन पहलको लागि पत्र पठाएको थियो ।
यसैबीच अन्तराष्ट्रिय दबाव पुगे मात्र भुटानीहरुसको स्वदेश फिर्ती सम्भव भएको सरोकारवालाहरुले औंल्याएका छन् । भारत, नेपाल सहितका मुलुकहरुको शरणार्थी समस्यालाई उच्च प्राथमिकतामा राखेर मात्र स्वदेश फिर्ती सम्भव भएको उनीहरुको भनाई थियो ।
आज दमकमा नेपाल मानवअधिकार संगठन झापाले गरेको अन्तकृयामा भुटानी अगुवा डाक्टर भम्पा राईले भारतको सहयोग भए मात्र भुटानी शरणार्थीहरू स्वदेश फिर्ता हुन सक्ने बताए । उनले नेपाल सरकारले प्राथमिकता दिएर भारत र भुटानसँग अविलम्ब वार्ता थाल्नुपर्ने बताए। राईले भारतले गम्भीरतापूर्वक स्वदेश फिर्तीको माग सुनुवाइ गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा बेलडाँगी शिविर सचिव सन्चहाङ सुब्बाले स्वदेश फर्कन चाहने शरणार्थीहरुको पहिचान गरी फिर्ता गर्न भुटान अग्रसर हुनुपर्ने बताए। कार्यक्रममा एमाले क्षेत्रीय अध्यक्ष नेत्र दाहाल, समाजिक अगुवा प्रकाश बुढाथोकी, ऐश्वर्य तिम्सिनाले तेस्रो मुलुक पुनर्बासमा जान नचाहने शरणार्थीहरुलाई भुटान फर्काउन पहल थाल्नुपर्ने बताएका थिए ।
संगठनका केन्द्रीय सदस्य कमल सुवेदीले नेपाल र भुटानबीच वार्ताको माध्यमबाट निकास निकाल्नुपर्ने बताएका थिए ।