Bhutan News Network

News That Matters

Security

बैंकमा करोडौं लुट, डकैती र हत्याका अभियुक्त पक्राउ

खिलानाथ ढकाल विराटनगर (सेतोपाटी डट कम)

पक्राउ परेका अभियुक्त रामप्रसाद राई । तस्बिर: खिलानाथ/सेतोपाटी
पक्राउ परेका अभियुक्त रामप्रसाद राई । तस्बिर: खिलानाथ/सेतोपाटी

पाँच वर्षयता प्रहरीको खोजीमा रहेका मोरङ पथरीस्थित भुटानी शरणार्थी शिविरका एक जना शरणार्थी युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा शरणार्थी शिविर सेक्टर ‘ए थ्री’ घर नं. ३२ का ३३ वर्षीय रामप्रसाद राई छन्।

हत्या, बैंक डकैती र लुटपाट घटनामा २०६५ सालदेखि प्रहरीको खोजीमा रहेका राईलाई दमकबाट प्रहरीको विशेष टोलीले शनिबार पक्राउ गरेको थियो। सोमबार अभियुक्त सार्वजनिक गर्दै मोरङ प्रहरीले अहिलेसम्मका अपराधको फेहरिस्त जानकारी गराएको छ।

अभियुक्त राईले दस वर्षयता शरणार्थी शिविर छोडेर आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएको खुलेको छ। उनी आफैंले शरणार्थी क्याम्प छोडेर दस वर्षदेखि आपराधिक क्रियाकलापमा संलग्न भएको सञ्चारकर्मीलाई बताए।

पछिल्लो समय पुस ९ गते सुनसरी इटहरी नगरपालिका–१ स्थित ओमसाई ज्वेलर्सका प्रोप्राइटर दीपेश शंकरमाथि गोली हान्ने प्रयास गरेपछि उनी प्रहरीको खोजीमा थिए। प्रहरीका अनुसार इटहरीमा गोली हानेर भागेका राईले त्यही दिन सुन्दरपुर गाविस वडा नं. ६ का ३६ वर्षीय मानबहादुर तामाङको हत्या गरेका थिए।

बूढी खोलाको डिलमा मृतक तामाङको टोली र राईको समूहबीच भेट हुँदा उनले गोली चलाएका थिए। त्यसयता प्रहरीले राईलाई सर्वाधिक खोजीको सूचीमा राखेर फेरि अनुसन्धान गरिरहेको थियो। मोरङ प्रहरीका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले राईको आपराधिक समूहमा आबद्व चार जनाको पहिचान भइसकेको र केहीदिनमै पक्राउ पर्ने बताए। ‘मानबहादुरमाथि गोली हान्दा प्रयोग भएको पेस्तोल बरामद भएको भइसकेको छैन, गोलीको खोका फेला परेको थियो,’ पोखरेलले भने, ‘चार जना व्यक्तिको पहिचान भइसकेको छ।’

आपराधिक शृङ्खला
२०६५ वैशाख २२ गते दमकस्थित लक्ष्मी बैंकबाट ७८ लाख ९० हजार रूपैयाँ दिउँसै लुटेको घटनायता फरार रहेर राईले आपराधिक गतिविधि गरिरहेको फेहरिस्त प्रहरीले सार्वजनिक गरेको छ । दिनदहाडै पेस्तोल बोकेर बैंक छिरेको राईलगायतको समूहले यतिका रकम लुट्दा प्रहरीले सुइँको त पाएन नै, यतिका वर्षसम्म पत्तै लाउन सकेन ।

त्यतिबेला दमक इलाका प्रहरीमा गोविन्द काफ्ले इन्सपेक्टर थिए । अत्यधिक खोजी गरे पनि काफ्ले यो मुद्दामा सफल भएनन् । उक्त मुद्दामा राईका सहयोगी २१ लाख ८७ हजार रूपैयाँसहित केही समयपछि पक्राउ परे । उक्त मुद्दा झापा अदालतमा चलिरहेकै छ ।

त्यसैगरी, २०६६ चैत ७ गते उर्लाबारी–७ बस्ने राम थापाको सुनचाँदी पसलबाट ५२ लाख २२ हजार सात सय रूपैयाँ राईकै समूहले लुट्यो । ९ लाख ९० हजार ८७ रूपैयाँसहित सहयोगी पक्राउ परे पनि राईको पत्तो लाउन सकेन प्रहरीले ।

यहाँ लुटेर भागेका राईले ताप्लेजुङ पुगेर नक्कली आफन्त बनाई सनाखत गराएर नेपाली नागरिकता लिएको पनि फेला परेको छ । उनले फुङलिङ–१ बस्ने रणबहादुर पालुङ्वालाई काका बनाएर २०६७ मंसिर १७ गते बिर्खबहादुरको नाति, भीमबहादुरको छोरा नामको विवरण पेश गरी प्रशासनबाट नागरिकता लिए ।

२०६८ असोज ७ गते फेरि मोरङ बयरवन गाविस–९ स्थित कानेपोखरी हाइवे खण्डमा दिउँसै सन्तोष भनिने त्रिभुवन फुयाँलको २१ लाख २० हजार एक सय रूपैयाँ लुटेर राई फरार भएका थिए ।

यसरी पक्राउ परे
प्रहरीका अनुसार इटहरीमा पेस्तोल देखाएर राईको समूहले सुन पसलमा डकैत गर्न खोजेको थियो । सुन पसलका प्रोप्राइटर दीपेशले प्रतिकार गर्न खोजेपछि लूट सफल भएन । हल्लाखल्ला भएपछि राईको समूह फरार भयो ।

प्रहरीले दायाँवायाँ खोजी गर्दा राईको समूहको भेउ नपाउँदै केहीबेरमा हत्या भएको खबर आयो । एसपी पोखरेलका अनुसार उनको समूह त्यहाँबाट सुन्दरपुर–६ बूढीखोलाको किनार पुगेर मादक पदार्थ सेवन गरिरहेको थियो ।

‘त्यहीबेला त्यही बाटो भएर हिँडिरहेका बखत मानबहादुर तामाङसमेतको टोलीलाई प्रहरी ठानेर राईले गोली चलाएको खुलेको छ,’ पोखरेलले भने, ‘मानबहादुरको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।’

पूर्वाञ्चल प्रहरी ब्यूरो टोलीले उनलाई धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरसम्म खोजी गर्‍यो तर पत्ता लागेन । मोबाइल नम्बर अनुसन्धानका क्रममा फागुन १९ गते राई लेटाङमा देखिएका थिए ।

उर्लाबारी थानाका प्रहरी नायब निरीक्षक बबिन्द्र नेम्वाङ, ब्यूरोका असई राजेन्द्र चौहान र बेलबारी थानाका असई दीपक बस्नेतको टोलीले समात्न खोज्दा त्यहाँबाट उनी एक जना सहयोगीसहित मोटरसाइकलमा पूर्व–पश्चिम राजमार्ग हुँदै पूर्वतिर भागेका थिए । प्रहरीले पछ्याइरह्यो तर उर्लाबारीसम्म पक्रिन सकेन । दमकमा विशेष प्रहरीको आकस्मिक टोली राजमार्गमा बसेपछि राई फन्दामा परे।

विशेषका सई उत्तम कार्कीसँग घम्साघम्सी हुँदा राईले पेस्तोल खोस्न खोजेका थिए । त्यसपछि प्रहरीले हवाई फायर गरेको थियो । पेस्तोल खोसाखोसका क्रममा उनलाई गोली लागेपछि प्रहरीले समात्न सकेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । राईलाई लुटपाट, ज्यान मुद्दा, कर्तव्य ज्यान मुद्दा र हातहतियार तथा खरखजना मुद्दामा अदालतमा म्याद थप गरी अनुसन्धान थालिएको पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *