बेलडाँगीमा दसैं, युएनएचसीआरलाई आशिष
युएनएचसीआरले कुरा बुझोस्
प्रक्रिया चाँडै मिलोस्
चाँडै भुटान फर्किन मिलोस् ।
यो बेलडाँगी तीन शिविरको सेक्टर ई-३ छाप्रो नं ४३ का देवीचरण आचार्यले दिने दसैंको आशिषको अंश हो । एकासी वसन्त खर्च गरिसकेका आचार्य दम्पतीको यो वर्षको दसैं टीका, जमरा र आशिषमै बित्यो । देवीचरण आफ्ना माइला छोरा लोकनाथको परिवारसँग बस्दै आएका छन् । उनका अरु आधा दर्जन सन्तान आ-आफ्नो परिवारसहित अमेरिका पुगेको धेरै वर्ष भइसक्यो । उनको तेस्रो मुलुक जाने प्रयास विफल भएको छ । अब उनीसँग भुटान वा अमेरिका जाने सपना देख्नु र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्च आयोग (युएनएचसीआर) ले कुरा बुझदिेओस् भन्ने आशिष दिनु बाहेक विकल्प देखिँदैन । अमेरिका पुगेका अरु भुटानीले जस्तै देवीचरण आचार्यले तेस्रो मुलुक पुनर्वासका लागि निवेदन दिए र आधा दिन अन्तर्वार्ता पनि दिए । अन्तर्वार्ताको क्रममा सम्झनामा लपेटेको आठ दशक लामो अनुभवको पोको खोले । पोकोबाट जेजे निस्कियो, त्यही-त्यही भने । यस्तै एउटा अनुभव भने जुन आचार्य दम्पती र अमेरिकाबीच आग्लो बन्यो ।
हकिकत: देवीचरण आचार्य युवा हुँदा उनका पिता देवनारायण अचार्ज भुटानमा दानाबारी ब्लकका मण्डल (ब्लक प्रमुख) थिए । मण्डलको एउटा प्रमुख कार्य हुन्छ, आफना ब्लकका रैतीलाई गोङडाहुल्ला -प्रत्येक वयस्क रैतीले सरकारलाई तिर्नुपर्ने निःशुल्क, अनिवार्य श्रम, प्रतिवर्ष दुई महिना) मा पठाउनु । गोङडाहुल्ला अन्तर्गत रोड खन्ने, दरबार बनाउने जस्ता कष्टकर काममा श्रमदान दिनुपर्छ । उक्त काम गर्न जानेले आफै खाने, बस्ने, यात्राको बन्दोबस्त गर्नुपर्छ । गोङडाहुल्लामा जानेहरू कति उतै मर्छन, कति घाइते, रोगी, अपाङ्ग भएर फर्किन्छन् । सरकारले कामको आवश्यकताअनुसार मण्डललाई आदेश दिन्छ, मण्डलले गाउँ-गाउँ, घर-घर गएर सरकारको परिपत्र पढेर सुनाउँछन् र गोङडाहुल्लाको मिति, समय, स्थानको जानकारी दिन्छन् । उनका पिता सरकारी परिपत्र सुनाउन गाउँ घुम्दा देवीचरण पनि साथ गएको र यस कार्यमा सहयोग गरेको अनुभव सुनाए । यही कार्यले गर्दा अमेरिकी कानुनअनुसार उनी पीडक बने र अमेरिका छिर्न प्रतिबन्धित भए ।
अमेरिका र युएनएचसीआरले यो बुझिदिए हुने थियो: भुटानको तानाशाहीतन्त्रभित्र मण्डलहरू पनि पीडित थिए, पीडित छन् र पीडित हुन् । भुटानमा राजनीतिक प्रणाली सुधारको आन्दोलनमा गोङडाहुल्ला हटाउनुपर्ने माग पनि सूचीमा थियो । यो आन्दोलन दबाउन सरकारले लखेटेका लाखौं जनतामा सयौ मण्डल, सांसद र तिनका परिवारजन पर्छन् ।
देवीचरणको छाप्रोभन्दा केही पर बेलडाँगी २ ई-३ छाप्रा नं ४० का खडानन्द भण्डारी (५३) को स्थिति फरक छ । उनी फगत एक्लै छन् । उनका छोराछोरी, श्रीमती, आफन्त मानिने सबै अमेरिकाको बिभिन्न ठाउँमा पुनर्वास भैसके । उनको दैनिकी गोबर खोजेर घर लिप्ने, पानी र अन्न जोहो गर्ने, खाना पकाउने, भाँडा माझ्ने र पूजापाठमै सीमित हुन्छ ।
जुन बेला उनका परिवारजनले तेस्रो मुलुक पुनर्वासका लागि निवेदन दिए, त्यसबेला उनले कुरो राम्ररी बुझ्न सकेनन्, अमेरिकामा उनको धर्म र संस्कृतिको सम्मान देखेनन्, उनी तेस्रो मुलुक पुनर्वास हुन मानेनन्, उनले परिवारलाई रोक्न सकेनन् र परिवारले उनलाई लान सकेनन् । आज उनले धेरै बुझसिके र परिवारजनसँगको बिछोडले गलिसकेका छन् । यस घडीमा उनको चेतनावृद्धि र इच्छा बुझििदने र निवेदन सुनिदिने न कोही छ, न सहयोग गरिदिने नै ।
गल्ती: यो गल्ती कसको हो ? उनले समयमा कुरा बुझ्न नसक्नुको वा उनलाई बुझाउन नसक्नेको ?
बेलडाँगी २ सेक्टर सी ३ छाप्रा नं ६३ का टीआर रेग्मी, भुटानका एक समयका सांसद हुन् र सामडरुप-जोङखरका जनप्रतिनिधि थिए । भुटानको राष्ट्रिय सभामा आफ्नो कार्यकालको बीचमै निर्वासित हुनपुगेका त्यसैले उनलाई भूतपूर्व सांसद भनिँदैन, रेग्मी भुटानमात्र र्फकन कम्मर कस्ने समूहका एक अगुवा हुन् । हाल उनी शारीरिक रूपमा अस्वस्थ छन् । सफा सुरुवाल, गन्जी र ढाका टोपीभित्र हाडछाला मात्र छ । शरीर सुकेर तौल बीस किलोमा झरेको छ । उनको बोलीले मात्र उनको साथ छोडेको छैन, पहिलेजस्तै धाराप्रवाह बोल्छन् । स्वास्थकै कारण उनले लेखिसिध्याउनै लागेको भुटानको इतिहास लेखनमा अल्पविराम लागेको छ ।
युएनएचसीआरलाई बिन्ती: सांसद टीआर रेग्मीको स्वास्थ्यस्थिति नाजुक भैसकेको छ । प्रायः सबै शारीरिक बिरामीहरू एकान्त चाहन्छन् र हिँडडुल मनपराउँदैनन् र सक्दैनन् । सांसद रेग्मीको हाल यस्तै छ । यस्ता सिकिस्त बिरामीहरूलाई झन्झटिलो प्रक्रियामा नगई, परिवार वा अभिभावकको सिफारिसमा, छिटोछरितो तरिकाले उद्धार गरिदिनुभए एक विद्वान् अग्रजको कल्याण हुने थियो ।
गोबिन्द रिजाल, Kantipur, govindarizal@gmail.com