भुटानी प्रधानमन्त्रीले पशुपतिनाथमा भने, ‘ फेरी चाँडै नेपाल आउन पाऊँ’
भुटानी पोशाकमा पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री छिरिङ टोब्गरीलाई एक सय आठ बटुकको स्वस्ती वाचनले मजैले तान्यो।
सार्क सम्मेलनका लागि ड्रुक एअरको नियमित उडानबाट मध्याह्न साढे ११ बजे काठमाडौं ओर्लिएका उनी स्वयम्भू र बौद्ध मन्दिरको दर्शन र पूजापछि साँझ साढे पाँच बजे पशुपतिनाथ पुगेका थिए।
स्वागतका लागि मन्दिर परिसरमा रहेका नेपाल वेद विद्याश्रमका एक सय आठ बटुकको सामूहिक स्वतीवाचन र हाउभाउ हेर्दै छिरिङले करिब पाँच मिनेट बिताएका थिए।
मन्दिरबाहिर निस्किएपछि उनले गाडी चढ्न लाग्दा मन्दिरतर्फ हेरे, साथमा आएका सूचनामन्त्री र राजदूतलाई इशारा गरेर उनी मन्दिर प्रवेशद्धारतिर लागे। सबैलाई चासो बढ्यो। छिरिङ भने मन्दिरबाट बाहिरिँदै गरेका बटुकहरूलाई इशारा गरेर उनीहरूबीचमा बसे र फोटो खिच्न भने।
‘करिब ४० मिनेट मन्दिरमा बिताएर बाहिरिने क्रममा पनि निरन्तर भइरहेको स्वस्ती वाचनमा पुन: दुई तीन मिनेट हेर्नु भयो’, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले अन्नपूर्णसँग भने, ‘उहाँलाई बटुकको शैली र स्वस्ती वाचनले लोभ्यायो।’
बटुक सुशान्त आचार्यले भुटानी प्रधानमन्त्रीसँगको भेटघाट र सामिप्यताले धेरै खुसी बनेको बताए। उनले भने, ‘हाम्रो पढाईको महत्त्व रहेछ, सँगै फोटो खिच्नु भयो यो हाम्रो अहोभाग्य हो।’
वाचनको अवलोकनपछि छिरिङले बासुकी मन्दिरमा आफैंले आरती गरेका थिए। गुप्तेश्वर दर्शनका क्रममा उनले भने, ‘जय शम्भो।’ त्यसपछि उनले क्रमश: शेषशाही नारायण, ढुण्डी गणेश, सूर्यनारायणमा फूल र जल चढाएर जल र प्रसाद ग्रहण गरेका थिए। उनले फूल चढाउँदै गरूण नारायण, सरस्वती र भैरवको दर्शन गरे।
मुक्ति मण्डपबाट बागमती दर्शन र सँगै पारीपट्टि भइरहेको सयौंको भीडसहितको आरतीमा रमाए। उनको जिज्ञासामा टण्डनले भने, ‘यो आरती प्रत्येक साँझ हुन्छ।’
मण्डपबाटै बागमती पारीको कलियुगेश्वरको दर्शन गर्दै छिरिङले एकछिन भगवान्को प्रार्थना गरेका थिए। सन्तापहरेश्वरमा जल चढाएर उनले श्रीकृष्ण, कृतिमुख भैरव, शीतला माता र उन्मक्तभैरवको दर्शन गरे।
त्यसपछि दीप प्रज्जवलनमा सहभागी भएका उनले यज्ञशाला, सप्तमातृका, नवग्रह र धर्मशीलाको हातैले छोएर दर्शन गरेका थिए। टण्डनले मन्दिरभित्र प्रवेश गर्ने इशारा गरेपछि उनले दक्षिणबाट पूर्वमुहार पुगेर श्रीयन्त्रको दर्शन गरेका थिए।
टण्डनले भने, ‘त्यहाँको आरतीमा रमाउन खोज्नु भयो तर आधा घण्टा लाग्छ भनेपछि सुरक्षामा समस्या पर्छ भन्दै कपुर आरतीमा सहभागी भएर मूलभट्टबाट चन्दन, जल र प्रसाद ग्रहण गरेर बाहिरिनु भयो।’
मूल मन्दिरबाट परिसरमा पुगेका छिरिङले सद्योजात, बामदेव मुहारको दर्शन गरेपछि नन्दीको परिक्रमा र हनुमान र सत्यनारायणको दर्शन गरेका थिए। पश्चिम द्धारबाट बाहिरिनुअघि स्वस्तीवाचनमा अल्मलिएर उनले सूचनामन्त्रीलाई भने, ‘विश्व क ल्याणका लागि सामूहिक प्रार्थना गरिदिनोस्।’
बाहिरिएपछि टण्डनले छिरिङलाई मायाको चिनोस्वरूप पशुपतिनाथ मन्दिरको आकृति दिएका थिए। उनले बिदा माग्दै टण्डनलाई भने, ‘चाँडै तेस्रोपटक पनि नेपाल आउन पाउँ। पशुपतिनाथसँग पनि यही प्रार्थना गरेको छु।’ भुटानी प्रधानमन्त्री छिरिङले भिजिटर बुकमा लेखेका छन्, ‘थ्याङ्क्यू फर प्रेइङ फर वल्र्ड पिस।’