Bhutan News Network

News That Matters

Top News

शरणार्थीमाझ छाएको सन्त्रास

Rabuna Jail Bhutan where Acharya is believed to be kept in. Photo taken in Nov 2011
Rabuna Jail Bhutan where Acharya is believed to be kept in. Photo taken in Nov 2011

अढाइ दशकदेखि अल्झेर रहेको भुटानी शरणार्थी समस्या बिस्तारै समाधानको दिशामा अघि बढिरहेका बेला सिंगो समस्यालाई सम्झाउने गरी यदाकदा नसोचेका गतिविधि देखापर्ने गरेका छन् । विशेषतः मानवअधिकार र स्वतन्त्रताको पक्षधर रहेर सामाजिक हैसियत बनाउन चाहने शरणार्थी पात्रहरूको विचार/विवेक कुण्ठित पार्दै दमन, अपहरण वा बेपत्तासम्म पार्ने क्रम अझै रोकिएको छैन । प्रत्यक्ष/परोक्ष तवरमा भइरहेका यस्ता गतिविधिको पछिल्लो सिकार बनेका छन्- अधिकारकर्मी लोकनाथ आचार्य ।

झापाको बेलडाँगीस्थित शिविरमा २३ वर्षयता बस्दै आएका र राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रावधानअनुरूपका दर्तामा रहेका शरणार्थी प्रतिनिधि आचार्य ७० दिनदेखि सम्पर्कहीन’ अवस्थामा छन् । अमेरिका पुनःबसोबासमा जाने निर्णयमा पुगिसकेका आचार्यलाई भारतको सिलिगुडीमा मानवअधिकारसम्बन्धी छलफलमा भाग लिन भनेर बोलाइएको र स्थानीय मालबजारबाट सादा पोसाकका तीन व्यक्तिको घेराउमा पारेर भुटान लगिएको खबरको पुष्टि भइसकेको छ । यसभन्दा अगाडि बढेर भुटानी सेनाको वाङदी फोड्राङ जिल्लास्थित रबुना हिरासतमा आचार्यलाई राखिएको तथ्य पनि सार्वजनिक भएको छ । आफ्नो परिवारको घरमूली सम्पर्कहीन बनेको यो स्थितिबारे आचार्यका नातेदारले राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायलाई अवगत गराइसकेका छन् । शरणार्थी आयोग, अन्तर्राष्ट्रिय रेडक्रस, आप्रवासन संगठनसहित सरोकारसम्बद्ध निकायमा मात्रै होइन, प्रत्यक्ष/परोक्ष शरणार्थी बेपत्ता प्रकरणमा जोडिएका भारत, भुटान र नेपालका सरकार प्रमुखलाई पनि आचार्य परिवारले हारगुहार गरिसकेका छन् । तर, कुनै राज्य संयन्त्र वा अन्तर्राष्ट्रिय निकाय पनि आचार्य बेपत्ता प्रकरणमा बोल्न चाहिरहेका छैनन् । अन्तर्राष्ट्रिय रेडक्रसले भुटानभित्र गएर कारागार निरीक्षण गर्ने हैसियत नरहेको’ भन्दै लाचारीको जवाफ फर्काएको छ भने पुनःबसोबास प्रक्रियामा जानका लागि पाँच वर्ष पहिल्यै प्रक्रिया अघि बढिसकेको अवस्था सामुमा रहे पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठन वा शरणार्थी आयोगले पनि आचार्यको यथास्थितिबारे केही बोल्न चाहेका छैनन् ।

शरणार्थी समस्या समाधानको सहमतिपूर्वक अपनाइएको उपायमा पुनःबसोबास मात्रै होइन, स्वेच्छिक घरफिर्तीको बुँदा पनि समेटिएको थियो । झन्डै डेढ लाख भुटानी शरणार्थीमा एक लाखजति अमेरिका/युरोपका विभिन्न मुलुकमा आज पुनःबसोबासमा गइसकेका छन् भने त्यही सम्झौताअनुसार अहिलेसम्म एकजना शरणार्थी पनि भुटानी नागरिकको हैसियतमा घर र्फकन सकेका छैनन् । देश-दुनियाँका सामु लोकतान्त्रिक पद्धतिमा गइसकेको भनिए पनि भुटानी राज्य संयन्त्र अझै पनि अनुदार र अधिनायकवादी शैलीमै सञ्चालित रहेको ताजा दृष्टान्त शरणार्थी नेता आचार्यको नजरबन्द स्थिति हो ।

शरणार्थी कानुन र अन्तर्राष्ट्रिय मान्यतामा पनि कुनै तेस्रो देशमा शरणागत एउटा नागरिकलाई भिन्न बहानाबाजीमा अर्कै भूमिमा लगेर अपहरण शैलीमा पक्राउ गर्नु र नजरबन्दमा राख्नु घोर निन्दनीय कार्य हो । यसबेला राष्ट्रसंघीय मानवअधिकार निकाय र सरोकार सम्बद्ध राज्य-संयन्त्रले पनि शरणार्थी नेता आचार्यको यथास्थितिबारे चासो राख्नु जरुरी छ । यो घटनाले शिविरमा अनागरिक हैसियतमा जीवन बिताइरहेका शरणार्थीहरूमाझ मात्रै होइन, पश्चिमा मुलुकमा पुनःबसोबासमा गएका भुटानी नागरिकमाझ पनि सन्त्रास छाएको छ । यो घटनाबारे जिम्मेवारीका आधारमा सबैभन्दा प्राथमिकतामा रहेको नेपाल सरकारले जवाफ दिन जरुरी छ । यसका लागि पनि भुटानी कारागारमा थुनामा राखिएको भनिएका नेता आचार्यको यथास्थिति पहिल्याउने काम तत्काल थालियोस् ।

Source: Kantipur Editorial

Leave a Reply

Your email address will not be published. Required fields are marked *