शिविरमा रहेका भुटानीलाई घर फर्काउन वार्ता
एकजना क्यानेडियन अधिकारीले घर फर्किन चाहने भुटानी शरणाार्थीबारे क्यानाडा सरकारले नेपाल र भुटान सरकारसँग वार्ता गरिरहेको बताएका छन् ।
३१ जेठ बिहान पूर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविर पुगेका नेपालका लागि क्यानाडाका सहायक राजदूत जेस डुटनले त शरणार्थीको स्वदेश फिर्ती चाहनालाई लिएर नेपाल र भुटान सरकारसँग वार्ता गरिरहेको बताए ।
“त्यस्तो वार्ताबाट हामी निकै नै आशावादी छौं,” शनिश्चरे शिविरमै आयोजित पत्रकारहरुसँगको संक्षिप्त भेटमा उनले भने, “नेपाल र भुटान दुवै देशसँग क्यानाडाको घनिष्ठ मित्रता भएकोले पनि हामीलाई आशावादी हुन सघाएको छ ।”
पुनर्वासका कारण शरणार्थीको संख्या घट्दै गएको उल्लेख गर्दै सहायक राजदुत डुटनले अब सानो संख्यामा रहेकाहरुको घर फिर्ती आशा बढेको पनि बताए ।