Bhutan News Network

News That Matters

Misc

भुटानी शरणार्थीमाथि ‘हन्बेर्नो’

दिनेशकुमार कार्कीले लेखेको उपन्यास ‘हन्बेर्नो’ बजारमा आएको छ । भुटानी शरणार्थीको जीवन–संघर्षमा आधारित उपन्यासको पत्रकार तथा लेखक किशोर नेपाल, आख्यानकारद्वय कृष्ण धरावासी, उमा सुवेदी र कवि केशव आचार्यले संयुक्त रुपमा विमोचन गरे ।

पुस्तकमाथि टिप्पणी गर्दै लेखक नेपालले भुटानी शरणार्थीको जीवन मिहिन रुपमा उपन्यासमा आएको बताए । ‘परित्यक्त बनेका शरणार्थीहरुको बिजोगको कथा उपन्यासमा सजीव भएर आएको छ,’ उनले भने, ‘भाषाशैली सरल बनेकाले उपन्यास सबैका लागि पठनीय बनेको छ ।’

आख्यानकार धरावासीले इतिहास, समाज, सूचना र तथ्यको एकमुष्ठ प्याकेजका रुपमा उपन्यास आएको भनाइ राखे । आफ्नो उपन्यास ‘शरणार्थी’को प्रसंग जोड्दै उनले भने, ‘मैले त शरणार्थीहरुको झलक मात्र दिएको छु, हन्बेर्नोमा सबै कुरा आएका छन् । भुटानी शरणार्थीमाथि अब पुस्तक नलेखे पनि हुन्छ ।’ लीला लेखनको प्रभाव देखिएको दाबी गर्दै धरावासीले हरेक पात्रमा नायकत्व देखिएको भनाइ राखे । ‘यहाँ धेरै यथार्थ पात्रहरु आएका छन्,’ उनले भने, ‘उनीहरुको भोगाइ र कहानी त छ नै, समग्रमा शरणार्थीहरुको औपन्यासिक दस्तावेजको रुपमा नेपाली साहित्यले महत्त्वपूर्ण किताब पाएको छ ।’ झापाली स्रष्टा कवि आचार्यले भुटानी शरणार्थीको तथ्यपरक सूचना बुझ्नका लागि पनि उपन्यासले मद्दत पु¥याउने भनाइ राखे ।

लेखक कार्कीले पुस्तक लेखनको पृष्ठभूमि जोड्दै झापाको शरणार्थी शिविरमा रहेका भुटानीसँगको सम्पर्कले उपन्यास तयार भएको जानकारी दिए । ‘२०५४ सालतिर फुपाजूलाई खोज्न मेघालयतिर गएको थिएँ,’ उनले रचनागर्भ जोड्दै भने, ‘त्यहाँ काम गर्ने भुटानीहरुको पीडालाई नजिकबाट नियाल्ने मौका पाएँ र त्यही कथालाई जोडेर हन्बेर्नो तयार भएको हो ।’

भुटानबाट लखेटिएका र तेस्रो देश पुनर्वासको नाममा नेपाल छोड्न बाध्य शरणार्थीहरुको संघर्ष–कथा बोकेको उपन्यास इन्डिगो इन्कले प्रकाशन गरेको हो । पुस्तकको मूल्य २९९ रुपैयाँ राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *