नेपालमै रहन दिन भुटानी शरणार्थीको माग
१ लाख १० हजारको संख्यामा भुटानी शरणार्थीहरु तेस्रो मुलुक पुनः स्थापना भइसकेपछि उक्त विकल्पमा जान नचाहनेहरुले नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन्।
झापा र मोरङका पाँच स्थानमा भुटानी शरणार्थीका शिविरहरु थिए।
अमेरिका, अस्ट्रेलिया लगायत विभिन्न युरोपेली मुलुकहरुमा १ लाख १० हजार भुटानी शरणार्थी पुनः स्थापित भएपछि अहिले दुईवटा स्थानका शिविरहरुमा शरणार्थीको बसोबास छ ।
माग
तिनै शरणार्थीहरुले अहिले नेपालमै स्थायी बसोबासका लागि वातावरण बनाइदिन माग राख्न थालेका हुन् ।
मोरङको शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले भने, “धेरै लामो भयो शरणार्थीहरुले भुटान फर्कन चाहेको । तर अहिलेसम्म सम्भव भएन । हामीले धेरै शरणार्थीसँग कुरा गर्दा नेपालमै बस्न पाउने विकल्पको माग अघि आएको हो”।
कतिपय बुढापाकाहरु भने अझै भुटान फर्कन पाउने आसमा बसेको उनी बताउँछन् ।
तर नेपाल मै जन्मेका अधिकांश युवा शरणार्थीले भने नदेखेको, नभोगेको भुटान जान नचाहेको सचिव राईले बताए ।
उनीहरुले शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको नेपालस्थित कार्यालयले आफ्ना माग अगाडि बढाइदिन आग्रह गरेका छन्।
तर उक्त कार्यालयका सूचना अधिकारी दिपेशदास श्रेष्ठले भने, ‘नेपाल सरकारले जस्तो नीति ल्याउँछ त्यो नीतिमा सहयोग गर्न युएनएचसीआर तयार छ।’
छलफल
गृह मन्त्रालयले भने विभिन्न देशका शरणार्थीसँग सम्बन्धित समस्या समाधानका विषयमा अध्ययन भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता दीपक काफ्लेका अनुसार उक्त अध्ययनपछि विभिन्न विकल्पमा छलफल चलिरहेको छ ।
उनले भने, “सरकारले अन्य देशका शरणार्थी समस्या समाधानका विषयमा अध्ययन गरेको छ । एउटै विकल्पमा मात्र होइन धेरै विकल्पमा छलफल भइरहेको छ”।
आगामी डिसेम्बर महिनासम्ममा तेस्रो मुलुक पुनः स्थापनाको कार्यक्रम सकेपश्चात करिब ५ हजारको संख्यामा शिविरहरु शरणार्थी रहने मन्त्रालयले अनुमान गरेको छ।