नेपालले भुटानलाई ५० रनमै अल आउट गर्यो
मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ५० रनमा अलआउट गरेको छ । बुधबार टस जितेर ब्याटिङ रोजेको भुटान २८ ओभर मात्र टिक्यो ।
भुटानका लागि कप्तान टासी फुन्त्सोले सर्वाधिक १६ र ओपनर उगेन दोर्जीले १३ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ४ ब्याट्सम्यानलाई पेभेलियन फर्काए । भुटानको पहिलो विकेट नन्दन यादवले लिएका थिए ।
भुटानविरुद्ध जित हात पारेमा नेपाल सेमिफाइनल पुग्नेछ । नेपाल प्रतियोगिताको प्रमुख दाबेदार टिम हो । नेपालले भुटानलाई पराजित गरे समूह ‘ए’ बाट सिंगापुर पनि सेमिफाइनल पुग्नेछ । सिंगापुरले समूह चरणका पहिलो दुई खेल जितिसकेको छ । सिंगापुरले भुटानलाई ९ विकेट र थाइल्यान्डलाई ९२ रनले पराजित गरेको थियो ।