भूटान पिपल्स पार्टीले अठाइसौं स्थापना दिवस मनायो
भूटानको निरंकुश राजतन्त्रलाई संवैधानिक र बहुदलीय प्रजातन्त्र स्थापना गराउने उद्देश्यमा गठित भूटान पिपल्स पार्टीले शनिबार अठाइसौं स्थापना दिवस मनाएको छ । निर्वासित अवस्थामा गठित यस पार्टीले धेरै आरोह–अवरोहहरू छिचोल्दै अघि बढीरहेको अवस्थामा पुनर्वास प्रक्रियाको अन्योलतापछि केही समयअघिबाट केन्द्रीय समितिको पुनर्गठन गरिएको छ । अधिकांश केन्द्रीय पदाधिकारीहरू आ–आफ्नाक्षेत्रबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउने कार्यमा संलग्न छन् ।
राष्ट्रियता र स्वतन्त्रता प्रवल बनाउने उद्देश्यमा शासक र शासित दुवै मिल्नुपर्छ भन्ने सद्भावले प्रजातान्त्रिक पद्धति स्थापनार्थ हामीले सन् १९९० को सेप्टेम्बरबाट शान्तिपूर्ण आन्दोलन सुरु गरेका थियौं । विधिको शासन, सुशासनको प्रर्वद्धन र नीतिगत स्थिरताका लागि शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हजारौं नागरिकलाई राष्ट्रद्रोही करार गरियो । पराधीन, कायर सरकारसँग साहस, क्षमता र स्वाभिमानको महत्व नहुँदा स्वाभिमानी नागरिकहरूले कहालीलाग्दो निर्वासित जीवन भोग्न पर्यो । राष्ट्रिय खुसियालीको नारासँगै मुलुकभित्रका अधिकांश जनता प्राथमिक शिक्षा पाउने अधिकारबाट वञ्चित भए । विद्यालयहरूमा जातीय भाषाका पाठ्यक्रम हटाइएपछि दक्षिणी क्षेत्रका नागरिकहरू आफ्नो भाषा बोल्न, लेख्न र पढ्न नजान्ने स्थितिमा छन् ।
तेस्रो मुलुक नेपालमा आश्रित भूटानी शरणार्थी समस्या समाधानको प्रयास दशकौंसम्म अन्योलग्रस्त रह्यो । शान्तिपूर्ण प्रयासबाट स्वदेश फर्कन चाहने हाम्रो यात्रा निटतम् छिमेकी मुलुकको अवरोधका कारण अघिबढ्न सकेन । नेपालको द्विपक्षीय समाधान खोज्ने प्रयास भूटानको दुष्कर्मी व्यवहारले पन्द्रौं चरणसम्मको वार्ता पनि निष्कर्षहीन रह्यो । भूटानको अकर्मन्यता, भारतको द्वैधीभाव र नेपालको आन्तरिक अस्थिरताले अन्तराष्ट्रिय खेलाडीहरूले प्रश्रय पाए । शरणार्थीका लागि तेस्रो मुलुक पुनर्वास एक वाध्यकारी विकल्प भए पनि यसले ठूलो मात्रामा पारिवारिक विखण्डनको पीडा थपिदिएको छ । विविध कारणबाट पुनस्थापन हुनबाट वञ्चित गराइएका, स्वदेश फर्कन लालायित र दर्ता प्रक्रियाबाट छुटाइएका शरणार्थीहरूको शिविरबसाइ दिन–प्रतिदिन अत्याधिक कष्टकर बन्दैछ । यद्यपि शरणार्थी समस्या समाधानको बहानामा स्वदेश फर्कन लालायित भूटानी नागरिकहरूलाई स्थानीयकरण गरिने प्रपञ्चप्रति भूटान पिपल्स पार्टी दुःख व्यक्त गर्दै घोर निन्दा र भत्सर्ना गर्दछ ।
प्रजातन्त्र स्थापनाको आवाज उठाएको आरोपमा गलहत्याइएका हजारौं नागरिकहरू स्वदेश फर्कन नपाउँदै संवैधानिक परिवर्तनको नाटक मञ्चनसहित राजाले इच्छाएको संविधानका धारा, उपधाराहरूको प्रयोग गरी मार्च २००८ मा र मई १०१३ मा देखावटी चुनाव भएका छन् । राजाका इच्छाएका दुई दलहरूमध्ये सरकारी संयन्त्रको दवावमा जनताले वाध्यतावस एकको पक्षमा भोट दिनु थियो, आफ्नो रोजाइ थिएन । सन् १९९० मा निर्वासित अवस्थामा गठित पहिलो दल भूटान पिपल्स पार्टी र यसपछिका भूटान न्यासनल डेमोक्रेटिक पार्टी, ड्रुक नेशनल कांग्रेसआदि दलहरूलाई राजनीतिक मान्यता दिइएन । निर्वासनमा रहेका लाखभन्दा बढी नागरिकको मतदान गर्न पाउने अधिकार त गुम्यो नै उनीहरूसँग सम्बन्धित मुलुकभित्रै रहेका आफन्तहरू अस्सी हजारले निर्वाचनमा सहभागी हुन पाएनन् ।
चौथो राजा जिग्मी सिङ्गे वाङ्गचुकको शासन शैली अत्यन्तै विलासी र उग्र रह्यो । मुलुकको शासन सम्हाल्नेभन्दा पनि अधिकांश चारवटी रानीहरूसँग समय बिताउने कामोन्मादी राजाले मुलुक साम्प्रदायिक गुटको चंगुलमा फसेको थाहै पाएनन् । हड्बढाएका राजाले दक्षिणक्षेत्रको समस्या समाधान गर्न नसकेमा राजगद्दी त्याग्ने प्रण पनि गरे । जब राज्यव्यवस्था भताभुङ्गको स्थितिमा पुग्यो हीनतावोधका कारण सन् २००६ मा स्वर्ण सिंहासन युवराजलाई सुम्पिएर पर्दापछि लुक्न वाध्य भए । हजारौं झुट बोलेर नथाक्ने पूर्व राजाले यही एकमात्र जनतासँगको कबोल पूरा गरेका छन् । पाँचौं राजा जिग्मी खेसार नाम्ग्येल वाङ्गचुकको कार्यशैली पूर्व राजाहरूभन्दा विल्कुलै भिन्न छ । धार्मिक तथा जनताप्रेमी राजाका रूपमा लोकप्रिय हुने प्रयासमा जुटेका छन् । यद्यपि, पिता राजा र पुत्र राजा दुवैको प्रभावकारी शासन रहेको मुलुकका जनताले अपेक्षा गरेको परिवर्तन प्राप्तिका लागि प्रजातान्त्रिक संघर्ष जारी राख्नुको विकल्प छैन ।
भूटानी नागरिकहरू विविध कारणबाट जहाँ पुगे पनि उनीहरूको स्वदेश फर्कन पाउने अधिकार संरक्षण गरिनु पर्दछ भन्ने पार्टीको मान्यता छ । शरणभूमि नेपालका वर्तमान गृहमन्त्रीसँगको गत २८ मई २०१८ मा भएको भेटवार्तामा भूटानी शरणार्थी समस्या समाधानमा सरकारले चाँडै ठोस निर्णय लिने आश्वासन पाइएकोहुँदा करिब तीन दशक लामो समस्याले निकास पाउने अपेक्षा गरिएको छ । यद्यपि, भूटानी जनताको संयुक्त प्रयासबाट मात्र मुलुकभित्रको समस्याको दीर्घकालीन समाधान हुनसक्ने विश्वासकासाथ निर्वासनमा रहेका, पुनर्वास भइसकेका र मुलुकभित्रै कष्टकर जीवन बिताइरहेकाहरू सबैमा हातेमालो गर्दै अघिबढ्न भूटान पिपल्स पार्टी हार्दीक आह्वान गर्दछ ।