संक्रमित हुँदैमा मरिदैन, नआत्तिऔं

– हरि खनाल 

हामी अमेरिकाको मासाचुसेट्स राज्यको स्प्रिङ्गफिल्डमा बस्छौं । परिवारमा चार जना छौं । श्रीमति यसोदा, म, १४ वर्षीय छोरा अनि ८ वर्षीया छोरी।

पूर्व भुटानी शरणार्थी म झापास्थित बेलडाँगी शिबिरमा करिव १७ बर्षसम्म बसे । आफ्नो देशबाट खेदाइनुको पीडा अनि नेपालमा शरणार्थी बस्दाका दुःख । वर्णन गरिसाध्य छैन । 


नेपाल सरकार र संयुक्त राष्ट्रसंघले हामी शरणार्थीका लागि तेस्रो देश पुर्नस्थापनाको कार्यक्रम ल्याएपछि सन् २००८ मा हामी अमेरिका आयौं । छोरी भने यतै जन्मिएकी हो । 

यहाँ हामी स्वास्थ्य क्षेत्रमै काम गछौ । हामी भन्नाले श्रीमति पनि । ं

हामी श्रीमान—श्रीमति काममा नियमित गइरहेकै थियौं । सबै ठीकठाक चलिरहेकै थियो । 

यत्तिकैमा २७ मार्चदेखि मलाई हल्का खोकी लाग्यो । त्यसको भोलि र पर्सिपल्ट शनिबार र आइतबार परेकोले बिदा थियो । २८ तारिख घरमै आराम गरे ।

२९ तारिख (आइतबार) भने जीउ पनि हल्का दुख्यो । घाँटी पनि खस्खसाउन थाल्यो । कतै कोभिड १९ ले समातेन भन्ने त्रासले गाँज्न थाल्यो । 

अब त ८ बर्षे छोरीलाई पनि ज्वरो आउन थाल्यो । यसरी परिवारका सदस्यहरुमा एकपछि अर्काेमा विमारका संकेत देखिन थालेपछि ३० तारिखमा मैले पहिलेदेखि नै जचाँउदै आएका चिकित्सकलाई सम्पर्क गरें । 

चिकित्सकहरुले जाँँच्न भनेपछि मैले कोभिड १९ परीक्षण गराएँ । शंका सही ठहरियो । १ अप्रिलमा मलाई कोभिड १९ भएको पुष्टि भयो । 

परिवारमा जम्मा ४ जना छौं । आफन्त र नरनाताहरु छरिएका छन् । संसारभरि हरेकदिन हजारौंको ज्यान जाने गरी फैलिरहेको महामारीका संकेत आफुमा देखिँदाका क्षणमा शुरुमा त एकदमै आत्तेस लाग्यो । अँध्यारो सुरुङभित्र फसेजस्तो महसुस भयो । 

बेलडाँगी शिबिरमा कष्टकर लामो जीवन विताएपछि अमेरिका आउने अवसर पाइयो । यता आएपछि जीवनले एउटा लय र गति समात्न खोज्दै थियो । यस्तो बेला अचानक त्रासले छोप्दा मनमा औडाहा हुनु स्वभाविक पनि थियो । 

तर, कोभिड १९ लागेका लाखौं ब्यक्ति उपचारपछि घर फर्किरहेका पनि त छन् नि । यो तथ्यले मलाई नआत्तिन प्रेरित गरिरहेको हुन्थ्यो । त्यसमाथि म परिवारको मुली । हरेश खाने वा निराश हुने अवस्थामा थिइन् । स्वास्थ्यको ख्याल गर्दै मन दह्रो पार्नुपर्छ भन्ने लाग्यो । 

मलाई कोभिड १९ पुष्टी भएपछि चिकित्सकले खानु भनेका ज्वरो र खोकीका औषधी भनेको मात्रामा र समयमा खाएँ । ८ बर्षकी छोरी पनि सेल्फ आइसोलेसनमा राम्रोसँग बसिन् । परिवारभित्रै पनि दुईसाता यता हामी एकअर्काविच करिव ६ फुटको दुरी बनाएर बसिरहेका छौं । 

पालैपालो खाना बनाउछौं । खाना खाँदा पनि एकैसाथ खाने गरेनाै‌ं । ग्लोब्स लगाइरहेका छौं । हरेक पटक नयाँ बस्तु छोएपछि सावुन पानीले हात धुन्छौं ।

अमेरिकी चिकित्सा विभाग र स्वास्थ्य संस्थाहरुले सार्वजनिक गरेका कोभिड १९ हुँदा अपनाउनुपर्ने हेरचाह विधिलाई राम्रोसँग पालना गरिरहेका छौं । तिर्खा लाग्दैपिच्छे र अघिपछिको भन्दा बढी तातो पानी पिउँछौं । तातो र झोलिलो खान्की खान्छौं । शारिरिक र मानसिक स्वास्थ्यको खुव ख्याल गरिरहेका छौं । 

घरभित्र आइसोलेसनमा बसेको बखतका शुरुआती दिनमा नातेदार र ईष्टमित्रहरुलाई आफू कोरोना संक्रमित भएको खबर सुनाएनौं । यसले एक किसिमको त्रासको सञ्चार गराँउथ्यो । 

करिव दुई साता हामी घरभित्रै आइसोलेसनमा छौं । अहिले हामी कसैलाई पनि ज्वरो, रुघाखोकी, घाँटी खस्खसाउने, टाउको दुख्ने जस्ता लक्षण छैनन् ।

चिकित्सकले पुनः जाँचका क्रममा निको भएको भनेका छन् । आफू स्वस्थ भएको महसुस भएपछि मात्र अर्थात् लक्षण देखिएको १२ दिनपछि मात्र मैले आफूमा संक्रमण देखिएको कुरा अरुलाई सुनाउन थालें । मलाई लाग्यो, यो कुरा सुनाउनुपर्छ, अरुको पनि मनोबल बढाउनुपर्छ । 

समयमै जाँच गरेको, चिकित्सकले भने बमोजिमका औषधि खानपानमा ध्यान दिएका कारण अहिले हामी ठीक भएका छौं । तर, केही दिन होशियार भने हुनैपर्छ । लाखौं मरिरहेका छन्, तर हामी बाँच्न सफल भयौं । 

त्यसैले संसारका जुन कुनामा, जो जहाँ हुनुहुन्छ । तपाईलाई पनि हामीलाई जस्तै थाहै नपाई यो महामारी संक्रमण हुनसक्छ । तर, संक्रमण हुँदैमा मरिंदैन । नआत्तिऔं, रोगसँग लडौं । अन्ततः जीत हाम्रै हुनेछ । 

(गोपाल गडतौलासँगको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *